नोबेल पुरस्कार विजेता मनोवैज्ञानिक तथा लेखक ड्यानिएल काह्नेमनको निधन

नयाँ आवाज
१५ चैत २०८० १३:२६

काठमाडौँ — नोबेल पुरस्कार विजेता मनोवैज्ञानिक तथा लेखक ड्यानिएल काह्नेमनको निधन भएको छ । उनको बुधबार निधन भएको हो । उनी ९० वर्षका थिए ।

काह्नेमनको मृत्यु प्रिन्सटन विश्वविद्यालयले सार्वजनिक गरेको हो, जहाँ उनी सन् १९९३ देखि कार्यरत थिए । ‘व्यवहारिक अर्थशास्त्रका पर्याय’ मानिने काह्नेमनले सन् २००२ मा अर्थशास्त्रतर्फको नोबेल पुरस्कार पाएका थिए । चर्चित र प्राज्ञिक क्षेत्रमा निकै प्रभावशाली मानिएको पुस्तक ‘थिङ्किङ, फास्ट एन्ड स्लो’ का लेखक काह्नेमन नै हुन् ।

सन् १९३४ मा इजरायलको तेल अभिभमा जन्मिएका काह्नेमनले १९५४ मा जेरुसेलमस्थि हिब्रु विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका थिए । त्यसपछि उनी मनोविज्ञानमा विद्यावारिधि गर्न क्यालिफोर्निया विश्वविद्यालय पुगेका थिए । सन् १९६१ मा उनी इजरायल नै फर्किए । उनले लामो समय मनोविज्ञान विषय पढाए ।

‘बेस्टसेलिङ’का साथै चर्चित पुस्तक ‘थिङ्किङ, फास्ट एन्ड स्लो’ मा इजरायली मूलका प्रसिद्ध अमेरिकी प्राध्यापक काह्नेमनले दशकौंदेखिका आफ्ना अनुसन्धानका निष्कर्ष एकै ठाउँमा पस्केका छन्। उनको अध्ययनले इंगित गरेका निचोडहरू मान्छेले कुनै चीजलाई मूल्यांकन गर्दा आम रूपमा कस्ता त्रुटिहरू गर्छन् भन्नेमा केन्द्रित छन् ।

जीवनका महत्त्वपूर्ण मोडमा मानिसले आफ्नैबारे लिने निर्णय तर्कसंगत हुनुको साटो कसरी ‘र्‍यासनल’ हुँदैनन् भनेर उनले वर्षौंको अनुसन्धानपश्चात् गहन प्रमाण पेस गरेका छन् ।

काह्नेमनले सन् २०१३ मा अमेरिकी राष्ट्रपति बाराक ओबामाबाट प्रतिष्ठित ‘प्रेजिडेन्सियल मेडल अफ फ्रीडम’ पनि प्राप्त गरेका थिए ।



प्रतिक्रिया

धेरै पढिएको