गृहमन्त्री लामिछानेसँग बेलायती राजदूतको भेटवार्ता

नयाँ आवाज
१५ चैत २०८० १७:२३

काठमाडौँ — उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायती राजदूत रोब फेनले भेटवार्ता गरेका छन् । बिहीबार सिंहदरबारमा भएको भेटवार्तामा दुई देशको सम्बन्ध र आगामी दिनमा नेपाल र बेलायतबीच गर्न सकिने सहकार्यका क्षेत्रबारे छलफल भएको गृहमन्त्री लामिछानेको सचिवालयले जानकारी दिएको छ ।

गृहमन्त्री लामिछानेसँग भेट्न नेपालका लागि बेलायती राजदूत रोब फेन सिंहदरबार पुगेका थिए । भेटवार्तमा एकसय वर्षभन्दा बढीको घनिष्ठ सम्बन्धमा बेलायतले नेपालको पूर्वाधार विकास, सामाजिक उत्थान, सरकारी तथा गैर-सरकारी निकायको क्षमता अभिवृद्धि, विपद् व्यवस्थापन, गोर्खा सैनिक भर्नालगायत विषयमा गरेको सहयोग, सहकार्य र समन्वयका लागि गृहमन्त्रीले आभार व्यक्त गरेका थिए ।

गृहमन्त्रीले भनेका थिए, ‘लोकतन्त्रको सुदृढीकरण, जलवायु परिवर्तन अनुकुलन, सामाजिक समावेशीकरण, सामाजिक विभेद र बञ्चितीकरण न्यूनिकरणमा समेत बेलायत सरकारसँग थप समन्वय र सहकार्यको अपेक्षा व्यक्त गर्दछु ।’

गृहमन्त्री लामिछानेले गोर्खा सैनिकले गरेको योगदान स्मरण गरेर बेलायत सरकारले भूपू गोर्खा सैनिकले उठाउँदै आएका मुद्दा न्यायोचित रुपमा सम्बोधन गर्नेमा आफू विश्वस्त रहेको कुरा राजदूतसँग राखेका थिए ।

राजदूत फेनले जाजरकोट भूकम्पको पुनःनिर्माणमा बेलायत सरकारले अनुदान उपलब्ध गराउने र नेपालको विकास निर्माण साझेदारीताका लागि नयाँ योजना ल्याउने आश्वासन दिएका थिए । विकासमा साझेदारी अनन्तकालसम्म रहने पनि राजदूतले बताएका थिए ।



प्रतिक्रिया

धेरै पढिएको