सरकारसँग कांग्रेसको माग– रवि लामिछानेलाई तत्काल पक्राउ गरियोस्

नयाँ आवाज
८ जेठ २०८१ १३:५६

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न सरकारसँग माग गरेको छ ।

मंगलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाली काँग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले गृहमन्त्रीको जस्तै अभियोगमा वागमती प्रदेश सभा सांसद गीता बस्नेतसँगै उपप्रधानमन्त्री लामिछानेलाई पनि पक्राउ गर्नुपर्ने बताएका हुन् ।

सरकारले सांसद बस्नेतलाई यसअघि नै पक्राउ पुर्जी जारी गरिसकेको छ । उनले ठगीको अभियोगमा सांसद बस्नेतलाई पक्राउ पुर्जी जारी हुने तर सोही अभियोग लागेका लामिछाने मुलुकको गृहमन्त्री हुने बिडम्बनापूर्ण अवस्थाको अन्त्य हुनुपर्ने बताए ।

सहमहामन्त्री पाण्डेले उपप्रधानमन्त्री लामिछानेले देशका विभिन्न ठाउँका सहकारीबाट एवं अर्बभन्दा बढी रकम गोर्खा मिडियाको नाममा लिएर अपचलन गरेको दोहो¥याउँदै उनको नाम किटान गरेर संसदीय छानविन समिति नबनेसम्म आफूहरुले संसद बैठक चल्न नदिने अडान पनि राखे ।

उनले भने– ‘हामी हाम्रो अडानमा दृढ छौं सम्माननीय सभामुख महोदय । लाखौँ सहकारी पीडितहरुलाई न्याय दिने कर्तव्यबाट हामी कदापि च्युत हुनै छैनौं । सम्माननीय सभामुखज्युमार्फत देशभरका सहकारी पीडितहरुलाई म आश्वस्त पार्न चाहन्छु वचतकर्ताको वचत फिर्ताको सुनिश्चितता नभएसम्म हाम्रो लडाईले विश्राम पाउने छैन। म आग्रह गर्न चाहन्छु । संसदीय छानविन समिति गठनको सैद्धान्तिक सहमतीपछि पनि टिओआर निर्माणमा कुरा नमिलेको हामी सबैले थाहा पाएका छौं । पछिल्लो दिनमा समाचारहरु अझ प्रकट ढंगले, प्रमाणित ढंगले आइरहेका छन् । स्वर्ण लक्ष्मी काठमाडौं, सुप्रिम बुटवल, साहारा चितवन, सूयर्दशन पोखरा, सूर्यदर्शन पोखरा समेतका ४ वटा सहकारीबाट गोर्खा मिडिया नेटवर्कले करिव एक अर्बको ऋण लिएको छ । त्यो ऋण तीनै सहकारीबाट लिइएको हो । र गोर्खा मिडियाले त्यो ऋण पाएको हो । त्यो बेलामा त्यसको प्रवन्ध निर्देशक माननीय गृहमन्त्री रवि लामिछाने हुनुहुन्छ । यसको पुष्टि र प्रमाणित हुने अनेक आधारहरु छन् । सहकारी कार्यालयमा त्यसको पुष्टि भएको छ । प्रहरीका विभिन्न कार्यालयमा त्यसको पुष्टि भएको छ । सिआईवीको रिर्पोटमा त्यसको पुष्टि भएको छ । महानगर र अदालतसम्म पुुगेका छन् ती रिपोर्टहरु । र सबै सुरक्षित छन् । यस्तो अवस्थामा माननीय गृहमन्त्रीको संलग्नताको दावी सम्पूर्ण हिसावले पुष्टि भएको छ । यस्तै खालको अभियोग भोगिरहेका सबै सदनका माननीय गिता बस्नेतमाथि पक्राउ पुर्जी जारी भएको हामीले सुनेका छौं । एउटै सदनका दुई जना माननीय सदस्य एउटै अभियोग एक जनालाई पक्राउ पूँर्जी जारी भएर फरारको सूचिमा रहनुपर्ने र अर्को एक जना गृहमन्त्री हुनुपर्ने यो कस्तो बिडम्बना हो, र यो कस्तो न्याय हो ? हामीले यति मात्रै भनिरहेका छौं । यस विषयमा हाम्रो दावी यो हो भने गृहमन्त्रीको दावी छ–म यसमा संलग्न छैन । त्यसो हो भने संसदीय छानविन समिति बनाउ । दावी अनुसार उहाँ संलग्न भएको होइन भने उहाँले उन्मुक्ति पाउनुहोस, सफाई पाउनुहोस । दावी अनुसार उहाँ संलग्न भएको हो भने माननीय गीता बस्नेतलाई जस्तै उहाँलाई पनि पक्राउ पूर्जी जारी होस् । हाम्रो यति मात्रै आग्रह हो । हामीालाई थाहा छ यस क्रममा गृहमन्त्रीले बोल्ने काम गर्नुभयो ।’

सहमहामन्त्री पाण्डेले कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाबिरुद्ध पक्राउ पुर्जी जारी भएको भन्दै कानूनको दायरामा हरेक नागरिकलाई ल्याउनुपर्ने भएपनि आग्रह र पूर्वाग्रह राखेर कसैमाथि कारबाही भएको खण्डमा नेपाली काँग्रेसले नसहने बताए ।



प्रतिक्रिया

धेरै पढिएको