गोलरक्षक एञ्जिलाको जीवनबाट प्रभावित चलचित्र ‘अञ्जिला’ माघ ११ गते रिलिज हुने
![गोलरक्षक एञ्जिलाको जीवनबाट प्रभावित चलचित्र ‘अञ्जिला’ माघ ११ गते रिलिज हुने](https://nayaawaj.com/wp-content/uploads/2024/03/ANGILA-RELEASE-DATE-mk.jpg)
काठमाडौँ। महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेको नेपाली चलचित्र ‘अञ्जिला’को रिलिज मिति तय भएको छ । चलचित्रका निर्देशक मिलन चाम्सले सबै पक्षबाट उपयुक्त मिति हेरी आगामी वर्ष २०८१ माघ ११ गते रिलिज गर्न लागिएको बताए ।
एञ्जिलाकै जन्मथलो इलामको आइतबारे सहित झापा र काठमाडौँमा यस चलचित्रको छायाङ्कन भएको छ । निर्देशक चाम्सले आफ्नो निर्देशन करियरमा यो चलचित्रले फरक प्रकारको छाप छोड्ने दाबी गरेका छन् । एञ्जिलाको बालापनदेखि खेल जीवनसम्मको कथामा उनले फुटबलर बन्नका लागि गरेको सङ्घर्ष र सफलताको कथालाई चलचित्रमा जोड दिएको निर्देशक चाम्सले जानकारी दिए ।
सफल खेलाडी बन्नु अगाडि एञ्जिलाले धेरै दुःखहरू भोगेको र इच्छाशक्ति भएदेखिन् असम्भव भन्ने कुरा नहुने सन्देश चलचित्रले दिने चाम्सले बताए । निर्देशक चाम्सले यो चलचित्र ठ्याक्कै एञ्जिलाको बायोपिक भने नभएको बताए । उनले ७५ प्रतिशत एञ्जिलाकै जीवनी हुने तर बायोपिक भने नहुने बताए ।
निर्माता श्रेष्ठले एञ्जिलाको कष्टकर बाल्य जीवनदेखि सफलतासम्मको कथा चलचित्रमा देखिने बताए । १४ वर्षदेखि एञ्जिलाको अभिभावकत्व ग्रहण गर्दै आएका उनले शिक्षा–दिक्षादेखि खेलाडी बनाउने सहमतिमा हस्ताक्षर गरेर अञ्जिलालाई मोरङबाट काठमाडौँ ल्याएका थिए । श्रेष्ठले एञ्जिलाको सङ्घर्ष र सफलताको कथाले धेरैलाई इन्स्पायरु गर्छ भन्ने लागेर चलचित्र बनाएको बताए ।
२०५३ मा पाँचथर जिल्लाको फाक्तेपमा जन्मिएकी एञ्जिलाले १३ वर्षको उमेरदेखि नै फुटबल खेल्न सुरु गरेकी थिइन् । सन् २०१४ मा श्रीलङ्कामा सम्पन्न एएफसी यु–१४ गर्ल्स रिजनल ट्रफीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यू गरेकी उनी २०१४ बाट राष्ट्रिय टिममा परेकी थिइन् । तर, उनी २ वर्ष बेन्चमै सीमित भइन् । त्यसयता भने उनी महिला राष्ट्रिय फुटबल टिमको भरपर्दो गोलरक्षक बनेकी छन् । एञ्जिला ‘पल्सर स्पोर्टस् अवार्ड २०७७’ को पिपुल च्वाइस अवार्डको मनोनयनमा समेत परेकी थिइन् । यो विधामा मनोनयनमा पर्ने एञ्जिला फुटबलकी एक मात्र खेलाडी हुन् ।
एञ्जिला ओलम्पिक क्वालिफाईङ राउन्डमा दोस्रो राउन्ड सम्म खेल्ने पहिलो महिला गोलरक्षक हुन् । यसै गरी उनी चीनमा भएको एसियन गेम्स खेल्ने, हिरो गोल्ड कपमा भारतलाई जित्ने, साफको सेमिफाइनलमा भारतलाई जित्ने पहिलो गोलरक्षक र क्याप्टेन हुन् । उनी साफको सिल्भर मेडलिष्ट गोलरक्षक हुन् भने श्रीलङ्कामा भएको साउथ रिजनल जोन टुर्नामेन्टमा भारत, इरान, भुटान, ताजकिस्तान र श्रीलङ्कालाई जितेर पहिलो पटक गोल्ड मेडल ल्याउने गोलरक्षक हुन् । पाकिस्तान लिगमा उनी गोलरक्षक रहेर पनि दुई गोल गरेकी थिइन्, जुन गोलरक्षक खेलाडीको इतिहासमा पहिलो बनेको थियो ।
सुदीप बरालको डिओपी रहेको यस चलचित्रका सम्पादक मिलन श्रेष्ठ हुन् । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा बनेको चलचित्रका निर्माता प्रेम कुमार श्रेष्ठ हुन् भने विनोद अग्रवाल र राजेश बगडिया सह–निर्माता हुन् । विनोद सुवेदी खत्री यसका निर्माण नियन्त्रक हुन् ।
म्याजिक फूटवेयरले एञ्जिलाको नाम अङ्कित गरी जुत्ता बनाएको छ । यसरी नेपाली खेलाडीको नाम अङ्कित गरी पहिलो पटक टी–शर्ट र जुत्ता (म्याजिक) बनेका हुन् । साथै, एञ्जिला चर्चित क्लोथिङ ब्रान्ड ली–निङको नेपालको पहिलो र विश्वको पाँचौँ ब्रान्ड एम्बासडर हुन् । साथै, उनी गोर्खा वाच र हन्ड्रेड स्पोर्टसको पनि पहिलो ब्रान्ड एम्बासडर हुन् ।
प्रतिक्रिया दिनुहोस