१४ वर्षपछि सँगै काम गर्दैछन् काजोल र करण जोहर ?

नयाँ आवाज
१५ माघ २०८० १४:५७

नयाँ दिल्ली । फिल्म निर्माता करण जोहरले आइतबार आफ्नो नयाँ फिल्मको घोषणा गरेका छन् । करणले खुलेर फिल्मबारे जानकारी दिएका छैनन् ।

तर भारतीय सञ्चार माध्यमहरूमा आएका खबरलाई पत्याउने हो भने यो फिल्ममा काजोल, दक्षिण भारतका सुपरस्टार पृथ्वीराज सुकुमारन र सैफ अली खानका छोरा इब्राहिम अली खानलाई काष्ट गरिएको छ ।

‘यो फिल्मको घोषणा होइन… तर हुन पनि सक्छ …. तपाईहरूको सहयोगले । हामीले गएको एक वर्षयता यो फिल्मको सुटिङ गरिरहेका छौँ तर हामीले यसलाई लुकाएर राखेका छौँ, यसको डिटेल शेयर गरेका छैनौँ । यहाँसम्मकी यो फिल्मको क्रु मेम्बरहरूलाई समेत यसबारे धेरै थाहा छैन अनि यो निर्णय एक डेब्यूटेंट निर्देशकले गरेका हुन्,’ करणले सामाजिक सञ्जालमा शेयर गरेको पोष्टमा भनेका छन् । यो फिल्ममा संलग्न कलाकारहरूबारे करणले दिएको जानकारीका अनुसार कलाकारहरू काजोल, पृथ्वीराज सुकुमारन र इब्राहिम अली खान हुन सक्ने पक्का छ ।

दोस्ताना–२ को अनुमान

करणले यो पोष्ट सामाजिक सञ्जालमा शेयर गरेपछ युजरहरुले अनेकौं अनुमान र अड्कलबाजी गरिरहेका छन् । केहीले त यो फिल्म दोस्ताना–२ हुन सक्ने पनि बताए । केहीले भने प्रभास दीपिका र अभिताभ बच्चन संलग्न प्रोजेक्टलाई यो घोषणासँग जोडेर हेर्न थालेका छन् ।

खबरका अनुसार करणले पोष्टमा कुरा गरेको फिल्म सरजमी हो । यो फिल्ममार्फत करणले १४ वर्ष पछि काजोलसँग काम गर्नेछन् । यसअघि काजोल र करणले सन् २०१० मा रिलिज भएको माई नेम इज खानमा सँगै काम गरेका थिए । सन् २०१२ मा रिलिज भएको करणको फिल्म स्टूडेन्ट अफ द इयरको एउटा गितमा पनि काजोल देखिएकी थिइन् ।

इब्राहिमको डेब्यू

अफवाहका अनुसार यो फिल्ममा सैफ अली खानको छोरा इब्राहिम अली खानले आफ्नो एक्टिङ डेब्यू गर्दैछन् । यो फिल्मबाट बोमन इरानीकी छोरी कायोज इरानीले आफ्नो डाइरेक्टियल डेब्यू गर्न सक्नेछिन् । करणको पछिल्लो फिल्म रकी और रानीकी प्रेम कहानी सुपरहिट भएको थियो । यो फिल्मले हालै भएको ६९ औँ फिल्मफेयर अवार्डमा कयौँ उपाधि हात पारेको थियो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको