धनुषा प्रहरीको हिरासतमा रहेका अध्यक्ष सिरोहियालाई अदालतमा पेश गर्ने तयारी

नयाँ आवाज
९ जेठ २०८१ ११:१९

काठमाडौं । जिल्ला प्रहरी कार्यालय धनुषाले हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई अदालतमा पेश गर्ने तयारी गरिएको छ । मंगलबार पक्राउपछि स्थलमार्ग हुँदै बुधबार बिहानै जनकपुरधाम पुर्‍याइएका उनलाई अदालतमा पेश गर्ने तयारी गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार उनलाई आजै जिल्ला अदालत धनुषामा पेश गर्ने तयारी छ । नागरिकता दुरुपयोग गरेको भन्दै सर्लाहीका इन्द्रजित महतोले सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालय, धनुषामा १६ वैशाख २०८१ किटानी जाहेरी दिएका थिए ।

जाहेरीको आधारमा जिल्ला अदालते उनलाई पक्राउ गर्न मंगलबार अनुमति दिएको थियो । मंगलबार नै सिरोहियालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापाथलीस्थित कान्तिपुर कार्यालयबाटै पक्राउ गरेको थियो ।

सिरोहियाले फरक-फरक नम्बरका नागरिकताहरु प्रयोग गरिरहेको भन्दै नागरिकता ऐन, २०६३ अनुसारको कसूरमा छानबिन गर्न प्रहरीमा जाहेरी परेको हो ।



प्रतिक्रिया

धेरै पढिएको