गण्डकी प्रदेशमा मन्त्री बन्दै फणीन्द्र र मनाङे

नयाँ आवाज
२९ जेठ २०८१ ११:५१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिमण्डल विस्तार गर्दैछन् । सांसद फणीन्द्र देवकोटा र दीपक मनाङे (राजीव गुरुङ)ले आज मन्त्रीको शपथ लिने भएका हुन् ।

देवकोटाले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय पाउने बताइएको छ । उनी गण्डकीको सामाजिक विकास तथा कृषि समितिका सभापति पनि हुन् ।

स्वतन्त्र सांसद दीपक मनाङे छैटौं पटक मन्त्री बन्दै छन् । प्रदेशसभाको दोस्रो कार्यकालमा मात्रै उनी दुई पटक मन्त्री भइसकेका छन् । सुरुमा सुरेन्द्रराज पाण्डे अल्पमतमा परेपछि मनाङे भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री बनेका थिए । पाण्डे सरकार ढलेपछि पनि मनाङे खगराज अधिकारी सरकारमा सोही मन्त्रालयमा दोहोरिए ।मनाङेले मंगलबार पुनः एक पटक सोही मन्त्रालयको पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् ।

यसअघि तटस्थ बसेको राप्रपाले पनि पाण्डेलाई विश्वासको मत दिएको छ । मुख्यमन्त्री पाण्डेले राप्रपाबाट पञ्चराम तमुलाई मन्त्री बनाउन प्रस्ताव गरेका छन् । तर, राप्रपाले तत्काल सरकारमा जाने विषयमा निर्णय नभएको जनाएको छ ।

नेपाल समाजवादी पार्टी भने पनि माओवादीले देवकोटालाई आफ्नो दलको ह्वीप लाग्ने दाबी गर्दै कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिएको छ । तर, देवकोटा आफू नेसपाको सांसद रहेको र पार्टीकै निर्देशन अनुसार अगाडि बढेको जिकिर गरेका छन् । गोरखा २ (क)बाट निर्वाचित देवकोटाले पाण्डेलाई विश्वासको मत दिएका थिए । उनलाई मुख्यमन्त्री पाण्डेले मंगलबार नै मन्त्रिपरिषदमा समेट्ने तयारी गरेका हुन् ।



प्रतिक्रिया

धेरै पढिएको