नेदरल्याण्डसँग खेल्नुअघि नेपाली टोलीले गर्‍यो पशुपतिनाथ र बौद्ध विहारको दर्शन

नयाँ आवाज
२२ जेठ २०८१ १०:३९

आइसिसि टि-२० विश्वकपमा नेदरल्याण्डसँग भिड्नुअघि नेपाली राष्ट्रिय क्रिकेट टिमले अमेरिकाको टेक्सासमा रहेको युलेसस्थित पशुपतिनाथ मन्दिर तथा बौद्ध विहारको दर्शन गरेको छ । नेपाली राष्ट्रिय टिम विश्वकपमा नेदरल्याण्डसँग भिड्नुअघि टेक्सासको युलेसस्थित पशुपतिनाथ मन्दिर तथा बौद्ध विहारमा पूजा आराधनामा सामेल भएको हो ।

नेपाली राष्ट्रिय क्रिकेट टिमले आज टि-२० विश्वकपअन्तर्गत नेदरल्याण्डसँग आफ्नो खेल खेल्दैछ । खेल नेपाली समयानुसार राति सवा ९ बजेबाट शुरु हुनेछ । पूजाआजपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाल तयारीको हिसावले सम्पूर्ण रुपमा राम्रो तयारी गरिरहेको बताए । उनले नेपालले वेस्टइण्डिज र अमेरिकामा गरी करिव एक महिना तयारी गरिसकेको भन्दै राम्रो नतिजा निकाल्नेमा आशावादी रहेको बताए । खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेपछि मात्रै सबैतिरको ढोका खुल्ने उनको भनाई छ ।

अध्यक्ष चन्दले भने, ‘तयारीको हिसावले हामी राम्रो तयारी गरेका छौँ । टिम एकदम उत्साहित छ । मलाई लाग्छ अब एक महिना दिनको तयारी छ । रिजल्ट राम्रै दिन्छ भन्ने छ । २०१४ को भन्दा धेरै गुणा राम्रो तयारी छ । त्यो बेलामा यस्तो खालको तयारी कम हुने गर्दथ्यो । अहिलेको टिमले पनि उत्कृष्ट प्रदर्शन गर्ने आशा छ । खेलाडीहरुले खेलेर उत्कृष्ट प्रदर्शन गरेपछि मात्रै सबैतिरको ढोका खुल्ने हो । उच्च मनोबलका साथ खेल्नुस् भनेका छौँ । सब खेलाडी उत्साहित हुनुहुन्छ । टियुकै झल्को दिनेगरी दर्शकहरुको उपस्थिति हुनेछ ।’

उनले खेलाडीहरुलाई उच्च मनोबलका साथ खेल्न आग्रह गरेको र सबै खेलाडीहरु उत्साहित रहेको बताए । दर्शकको उपस्थिति पनि बाक्लो रहने उनको दाबी छ ।



प्रतिक्रिया

धेरै पढिएको