ट्राफिक प्रहरी जवान घिमिरेको हत्यामा संलग्न ७ जना सार्वजनिक
![ट्राफिक प्रहरी जवान घिमिरेको हत्यामा संलग्न ७ जना सार्वजनिक](https://nayaawaj.com/wp-content/uploads/2024/05/thumb-2.jpg)
काठमाडौँ — ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न ७ जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । खोटाङको मझुवागढी नगरपालिका-१ घर भई हाल काठमाडौं टोखा नगरपालिका-१० गोंगबुको गणेशस्थान बस्दै आएका ३२ वर्षीय घिमिरे नेपाल प्रहरीमा कार्यरत थिए ।
घर जाने बाटोको प्राविधिक पक्षहरूको विश्लेषण गर्दा विगतमा चोरी, लुटपाट, कुटपिटलगायतका अपराधमा संलग्न व्यक्तिहरूलाई शंकाको घेरामा ल्याइ अनुसन्धान गरिएको प्रहरीले जनाएको छ । हत्यामा संलग्न व्यक्तिलाई काठमाडौं महानगरपालिका-१६ स्थित अष्टनारायण हलपछि र बाइसधारा जंगलबाट भाग्न लागेको अवस्थामा एक राउन्ड हवाई फायर गरी पक्राउ गरिएको प्रहरीले बताएको छ ।
प्रारम्भिक रूपमा हेर्दा काम सकेर घरतर्फ जानुअघि खाजा खानका लागि तारकेश्वर नगरपालिका वडा नम्बर ११ स्थित खाजा घरमा प्रवेश गरी खाजा खाइरहेको बेलामा सचिन परियार र अञ्जली श्रेष्ठ पनि खाजा खाइरहेको अवस्था रहेको प्रहरीको भनाइ छ । घिमिरे र सचिनको पुरानो परिचय रहेको कुरा प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीको भनाइ छ ।
त्यसै अवस्थामा घिमिरे र परियारबीच सामान्य विरोध सुरु भएको अवस्था पत्ता लागेको बताए । युवराज घिमिरेले अञ्जलीलाई जिस्क्याएको आरोपमा विवाद भएको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीको भनाइ छ । अञ्जली अस्वस्थ भएको भन्दै माथिसम्म पुर्याइदिन आग्रह गरेको र एउटै मोटरसाइकलमा गएर सो स्थानमा पुगेर तत्कालै घटनास्थलमा बसिरहेका कार्की, तामाङलगायतका साथीहरू मिली बेल्ट र विभिन्न हतियार प्रयोग गरी घिमिरेको हत्या भएको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस